अजय मिश्र
कपिलवस्तु, असोज १६ गते ।
कपिलवस्तुको कृष्णनगरमा यस वर्षको बिजया दशमी पर्व अवसरमा स्थापना गरिएका दुर्गा भवानीलगायतका मूर्तिहरू आज भव्य र सभ्य तरिकाले विसर्जन गरिएको छ।
नगरका जनप्रतिनिधि तथा सामाजिक अगुवाको नेतृत्वमा विसर्जन यात्रा कृष्णनगर बजारबाट सुरु भएको थियो। भक्तजनहरूले नाचगान र भक्ति गीतका साथ नगर परिक्रमा गर्दै दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीसहितका मूर्तिहरूलाई धार्मिक विधिअनुसार नदी, ताल र पोखरीमा विसर्जन गरेका हुन्।
नवरात्रभर निरन्तर पुजापाठ र व्रत बसेर गरिएको पूजा सम्पन्न गरी विजयादशमीको दिन विसर्जन गर्ने परम्पराअनुसार कृष्णनगरमा १८ भन्दा बढी स्थानमा स्थापना गरिएका मूर्तिहरू आज सुरक्षा व्यवस्थामाझ शान्तिपूर्ण ढंगले विसर्जन गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिए।
सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय निकायको संयोजनमा विशेष योजना बनाइएको थियो। ड्रोनमार्फत निगरानी गरिनुका साथै एम्बुलेन्स, दमकल र नेपाल विद्युत प्राधिकरणको गाडी समेत सतर्कतापूर्वक परिचालन गरिएको थियो।
विसर्जन समारोहमा नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्मा, पूर्व मन्त्री विरेन्द्र कुमार कनोडिया, सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीसहित स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र हजारौं भक्तजनहरूको उत्साहपूर्ण सहभागिता थियो।

