गाैशाला, कार्तिक ४ गते ।
बलिउडको हास्य र चरित्र अभिनयको क्षेत्रमा एक अमिट छाप छोडेका दिग्गज अभिनेता गोवर्धन असरानी (असरानी) ८४ वर्षको उमेरमा निधन भएका छन्। उनी केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए र मुम्बईको आरोग्य निधि अस्पताल, जुहूमा उपचाररत थिए। आईतबार राति अन्तिम सास लिएका उनका निधनको समाचारले चलचित्रप्रेमी र सहकर्मीहरू स्तब्ध बनेका छन्।
पछिल्ला दिनहरूमा असरानीलाई सास फेर्न कठिनाइ र फोक्सोमा पानी जम्ने समस्या देखा परेको थियो। जटिल अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो, तर चिकित्सकहरूको प्रयास असफल रह्यो।
उनको अन्त्येष्टि मुम्बईकै सान्ताक्रुज शवदाह गृहमा सोमबार बिहान पारिवारिक उपस्थितिमा सम्पन्न भएको भारतीय मिडियाले जनाएको छ। निधन हुनु अघि केही घण्टा मात्र उनी सामाजिक सञ्जालमार्फत दिवालीको शुभकामना सन्देश सार्वजनिक गरेका थिए।
करियर र योगदान
१९४१ जनवरी १ मा जयपुर, राजस्थानमा जन्मिएका असरानीले सन् १९६० को दशकको अन्त्यतिर बलिउडमा प्रवेश गरेका थिए। उनले ३५० भन्दा बढी हिन्दी चलचित्रहरूमा अभिनय गरेका छन्। उनको हास्य अभिनय र चरित्र प्रस्तुतीले हिन्दी सिनेमा प्रेमीको मनमा सधैं अमिट छाप छोडेको छ।
सन् १९७५ को चर्चित चलचित्र ‘शोले’ मा उनले निर्वाह गरेको “अंग्रेजों के ज़माने के जेलर” पात्र आज पनि दर्शकमा जीवित छ। साथै छोटी सी बात, अमर अकबर एन्टोनी, चुपके चुपके, हेरा फेरी, भूल भुलैया लगायतका चलचित्रहरूमा पनि उनी अविस्मरणीय बनेका छन्।
श्रद्धाञ्जलि र प्रतिक्रिया
उनको निधनपछि भारतीय फिल्म जगत शोकमग्न बनेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसहित थुप्रै बलिउड कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन्।
> “असरानीले हाँसो र सरलताका माध्यमबाट भारतीय सिनेमा र दर्शकमा सधैं सकारात्मक प्रभाव पारे।”
असरानी पछाडि उनकी श्रीमती मञ्जु असरानीलगायत परिवारका सदस्य रहेका छन्। बलिउडको हास्य अभिनय क्षेत्रमा उनी एक युगान्तकारी व्यक्तित्वका रूपमा सदैव सम्झाइनेछन्।

