काठमाडौं, कार्तिक ९ गते ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। उनले नयाँ चार जना मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले प्रस्ताव गरेका नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ र उनीहरूले आजै शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
नयाँ मन्त्रीहरूमा डा. सुधा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्। डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले हाल देशको राजनीतिक संक्रमणकालीन व्यवस्थापनका लागि काम गरिरहेको छ। नयाँ मन्त्रीहरूको समावेशसँगै सरकारले नीतिगत र प्रशासनिक गतिशीलता थप हुने अपेक्षा गरिएको छ।


