पवन प्रसाद शाह
बिरगंज, कार्तिक १४ गते ।
पर्साको बहुदरमाई नगरपालिका–४ डोकेला बहुअरीका ५५ वर्षीय महेन्द्र राउत अहिरको शव उपचार खर्च तिर्न नसक्दा वीरगंजस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालको फ्रीजमै राखिएको छ ।
मृतकका भतिजा रमेश यादवका अनुसार गत असोज २८ गते साँझ ५ बजे डोकेला चोकमा पैदल हिँडिरहेका राउतलाई बहुदरमाई नगरपालिका–१ ध्यानसिंह पिपराका मन्देश साह तुरहा सवार मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलमा तीन जना सवार थिए । ठक्करका कारण गम्भीर घाइते भएका राउतलाई गण्डकस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
टाउकोमा शल्यक्रिया गरिए पनि करिब १७ दिनको उपचारपछि उनको मृत्यु भएको आफन्तले बताएका छन्।
अस्पतालका अनुसार राउतको उपचारमा करीब नौ लाख रुपैयाँ खर्च भएको छ। तर, ठक्कर दिने तुरहाले डेढ लाख र परिवारजनले थप सवा लाख रुपैयाँ मात्र तिरेका छन्। बाँकी रकम नतिरेसम्म अस्पतालले शव फिर्ता नदिने जनाएको छ।
अस्पताल प्रशासन शाखाका विष्णु पटेलले भने, “उपचार अघि नै परिवारले कानूनी मञ्जुरीनामा सही–छाप गरेका थिए। त्यसअनुसार खर्च परिवारले बेहोर्नुपर्ने हुन्छ।”
मृतक राउतका एक श्रीमती र एक पूर्ण अपांग छोरा छन्। परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले आफन्त र स्थानीयले सहयोग जुटाउने प्रयास गरिरहेका छन्।
यसैबीच, इलाका प्रहरी कार्यालय पोखरियाले ठक्कर दिने मन्देश साह तुरहा फरार रहेको र उनको खोजी कार्य तीव्र गतिमा भइरहेको जनाएको छ ।

