राजेश सिंह
गौशाला, कार्तिक २३ गते ।
महोत्तरीको सम्सी गाउँपालिका–६ मा एस एच स्पोर्टद्वारा आयोजित खुला क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले खेलकुदले युवाहरूमा शारीरिक तन्दुरुस्ती, आपसी एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने बताउँदै स्थानीयस्तरमा यस्ता प्रतियोगिताहरूले नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले गाउँ–नगरको समग्र विकासका लागि खेलकुद गतिविधिलाई निरन्तरता दिन सबैलाई आह्वान समेत गरे ।
त्यस्तै, सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादवले गाउँका युवाहरूमा बढ्दो खेलप्रतिको उत्साह प्रशंसनीय रहेको भन्दै गाउँपालिकाले खेल पूर्वाधार विकास र खेलाडी प्रवर्द्धनका कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाए।
कार्यक्रममा अन्य अतिथिहरूले पनि आफ्नो धारणा राख्दै खेलकुदलाई सामाजिक रूपान्तरण, अनुशासन र एकताको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।
सो समारोहको अध्यक्षता एस एच स्पोर्टका सञ्चालक सिवलि शेखले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादव, वडा नं. ३ का अध्यक्ष अतिकुर रहमान, वडा नं. ६ का अध्यक्ष शेख उमैद, र जसपा नेपालका रामगोपालपुर नगरपालिका संयोजक विजय कुमार यादवलगायत प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार प्रतियोगितामा आसपासका बिभिन्न टिमहरूको सहभागिता रहने र उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ।




