जनकपुरधाम, कार्तिक ३० गते ।
मधेश प्रदेशमा असंवैधानिक रूपमा नियुक्त गरिएको आरोप लागेका मुख्यमन्त्री सरोज यादवको बर्खास्तीको माग गर्दै मधेश भवन अगाडि सातौँ दिनदेखि शान्तिपूर्ण आन्दोलन जारी छ। आन्दोलनकारीले यादवको नियुक्ति संविधान र प्रचलित विधि–विधान विपरीत भएको दाबी गर्दै तत्काल पदमुक्त गर्न माग गरे ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसहित सात राजनीतिक दलका नेता–कार्यकर्ता तथा संघीयता समर्थक नागरिकहरू सडकमा उत्रिएका छन्।
गत कार्तिक २४ गते बिहान ५ बजेतिर तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली नजिकको पानस बार रेस्टुरेन्टमा राजकीय शपथग्रहण समारोह आयोजना गरी नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको शपथ दिलाएकी थिइन्। यो प्रक्रिया विधि विपरीत भएको भन्दै दलहरूले प्रदेशको अस्मितामाथि प्रहार भएको आरोप लगाएका छन्।
यस्तै, मुख्यमन्त्री यादवको नियुक्ति खारेज गर्न माग गर्दै ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। रिट दायरसँगै आन्दोलनकारीहरूले न्यायिक निर्णय नभएसम्म शान्तिपूर्ण विरोध जारी रहने बताएका छन्।

