गौशाला, मंसिर १९ गते ।
महोत्तरीको मटिहानीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई सम्मान गर्न विशेष कार्यक्रमसहित राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ। “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने नारा लिएर मनाइएको दिवसले स्थानीय स्वास्थ्य सेवाप्रतिको सामुदायिक प्रतिबद्धता झल्किएको छ।
दिवसका अवसरमा नगर प्रमुख हरि प्रसाद मण्डलले स्वयंसेविकाहरूलाई झोला प्रदान गर्दै उनीहरूको निरन्तर मेहनत र समर्पणले मटिहानीमा आधारभूत स्वास्थ्य सेवाको पहुँच बढेको बताए। उनले मातृ–शिशु स्वास्थ्य, नियमित स्वास्थ्य जाँच, रोग नियन्त्रण तथा जनचेतनामूलक अभियानमा स्वयंसेविकाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, स्वास्थ्य संयोजक पवन कुमार मण्डल, विभिन्न शाखा प्रमुख र स्थानीय स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूका अनुसार स्वास्थ्य स्वयंसेविकाले समुदायसँग प्रत्यक्ष सम्पर्क गरी गर्ने कामले स्थानीय स्तरमा स्वास्थ्य सूचक सुधारमा उल्लेखनीय योगदान पुर्याइरहेको छ।
स्वास्थ्यप्रति जागरूकता बढाउँदै समुदायलाई सक्षम बनाउने लक्ष्यसँगै दिवसले स्थानीय स्तरमा स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउन स्वयंसेविकाको भूमिका अझ प्रस्ट रूपमा उजागर गरेको छ।




