राजेश सिंह
गाैशाला, मंसिर २४ गते ।
महोत्तरीकाे गाैशाला नगरपालिका–११ स्थित श्री नेपाल राष्ट्रिय जनता आधारभूत (०–८) विद्यालय, बहादुरगंजमा ४ कोठे सुविधा सम्पन्न भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । नगर क्षेत्रमा शिक्षाको पहुँच विस्तार र भौतिक संरचना सुदृढीकरण गर्ने उद्देश्यले भवन निर्माण गर्नकाे लागि शिलान्यास गरिएको हो ।
नगर प्रमुख डा. दिपेन्द्र महतोले समारोहबिच भवन निर्माण गर्नकाे लागि विधिवत रुपमा पूजापाठ भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् । शैक्षिक गुणस्तरमा सुधार ल्याउन व्यवस्थित कक्षा कोठाको आवश्यकता रहेको बताउँदै नगर प्रमुख महतोले निर्माण कार्य गुणस्तरीय रूपमा तोकिएको समयभित्र सम्पन्न गर्न ठेकेदारलाई आग्रह गरे ।
भवन निर्माण धनुषाधाम–७, धनुषास्थित मुनाल एण्ड उत्सव निर्माण सेवा प्रालिले जिम्मा पाएको छ । कुल ६४ लाख ७ हजार ७ सय ८१ रुपैयाँ ३६ पैसामा सम्झौता भएको उक्त भवन निर्माणका कार्य २०८२ साल भदौ २३ गते औपचारिक रूपमा सम्झौता हुँदै अघि बढेको हो । सम्झौतामा २०८३ साल असार १२ गतेभित्र भवन निर्माण सम्पन्न गर्नेपर्ने समय ताेकिएकाे छ ।
ठेकेदार कम्पनीले तोकिएको मापदण्डअनुसार आधुनिक र सुविधा सम्पन्न कक्षा कोठा निर्माण गर्ने प्रतिबद्धता जनाइएकाे छ ।
स्थानीय नेतृत्व र समुदायको व्यापक उपस्थिति
शिलान्यास कार्यक्रममा गाैशाला नगरपालिका–११ का वडा अध्यक्ष रामपृत महतो, वडा नं. १२ का पूर्व वडा अध्यक्ष कृष्ण बहादुर विक, वडा सदस्यहरू, विद्यालयका प्र.अ. तथा शिक्षक–शिक्षिका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानध्यापक भाेगेन्द्र महताेका अनुसार नयाँ भवन निर्माण भएपछि कक्षा कोठाको अभाव हट्ने, विद्यार्थीको सिकाइ वातावरण अझ सुदृढ हुने र विद्यार्थी भर्ना तथा सिकाइ–प्रगति दुबैमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।












