सर्लाही, मंसिर २६ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, पिपलदमार र वरिपरिका चुरे क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी गरिएको छ । यो अभियान जिल्ला प्रहरी कार्यालय सर्लाही केशरगञ्ज र सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण, हे.क्वा. सर्लाहीको संयुक्त टोलीले सञ्चालन गरेको हो ।

अभियान बिहान १०:३० बजे सुरु भएको थियो। सुरक्षाकर्मीहरूले ३.५ बिघा क्षेत्रफलमा फैलिएका करिब १८ हजार ५ सय गाँजाका बिरुवा फडानी गरेर नष्ट गरेका छन् । अभियान दिउँसो ३:३५ बजे सफलतापूर्वक सम्पन्न भएको थियो ।
प्रहरीका अनुसार, यस किसिमको अवैध खेती रोक्न निगरानी निरन्तर जारी रहनेछ । स्थानीयवासीलाई पनि सचेत रहन र अवैध लागुऔषध खेती वा बिक्रीमा संलग्न नहुन प्रहरीले अनुरोध गरेको छ । अवैध गाँजा खेती, बिक्री वा वितरणमा संलग्न हुनेहरूलाई कानून अनुसार कार्वाही गरिनेछ ।



