गाैशाला, मंसिर २९ गते ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट उमेश कु यादवले उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी सार्वजनिक गर्दै यादवले महोत्तरी–४ क्षेत्र विकास र अवसरका हिसाबले लामो समयदेखि पछि परेको उल्लेख गरे। यस क्षेत्रका जनताले आधारभूत सेवा, रोजगारी र न्यायका लागि निरन्तर संघर्ष गर्नुपरेको अवस्थाले आफूलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको उनले बताए।
यादवले परम्परागत दलहरू जनअपेक्षाअनुसार काम गर्न असफल भएको टिप्पणी गर्दै वैकल्पिक राजनीतिक धारको आवश्यकता औँल्याए। यही कारण राष्ट्रिय मुक्ति पार्टीमार्फत जनताको आवाज संसदसम्म पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ।
नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा करिब ३० वर्ष सेवा गरेर अवकाशप्राप्त यादवले आफ्नो सेवा अनुभव राजनीति र समाजसेवामा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। अनुशासन, पारदर्शिता र जनमुखी सोच आफ्नो मुख्य शक्ति भएको उनले बताए।
“लामो समय राष्ट्र सेवामा बिताएँ, अब राजनीतिक यात्रामार्फत विकास, सुशासन र सामाजिक न्यायका लागि काम गर्ने समय आएको छ,” यादवले भने।
उनले आफ्नो उम्मेदवारी पछाडि परेका समुदायको हकअधिकार, समान अवसर र समग्र क्षेत्रीय विकासमा केन्द्रित रहने उल्लेख गरे। महोत्तरी–४ का मतदाताको विश्वास पाएमा जनताको अपेक्षाअनुसार जिम्मेवार भूमिका निर्वाह गर्ने यादवको प्रतिबद्धता छ।

