काठमाडौं, पुस ३ गते ।
नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित हुनुभएको छ। बिहीबार सम्पन्न मतदानमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्नुभयो । पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको थियो ।
यससँगै ओलीले तेस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्हाल्ने अवसर पाउनुभएको छ। यसअघि २०७१ सालमा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट उहाँ माधव नेपाललाई पराजित गर्दै पहिलो पटक अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७८ सालमा चितवनको सौराहामा भएको महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष चुनिनुभएको थियो। २०६५ सालमा भएको आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।
अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले यस पटक पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको थियो। उहाँ यसअघि एमालेका महासचिवसमेत रहनुभएको थियो ।
यस्तै, एमालेको महासचिव पदमा शंकर पोखरेल पुनः निर्वाचित हुनुभएको छ। पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गर्नुभयो ।


