गाैशाला, पुस ८ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका – १ रामनगर स्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले यस वर्षको उखु क्रसिङ सुरु गरेको छ। उद्योगले सोमबारदेखि चिनी उत्पादन प्रक्रिया थालेको भए पनि अपेक्षाअनुसार उखु नपुग्दा सञ्चालन प्रभावित बनेको छ ।
गत वर्ष मङ्सिर अन्तिम सातामै क्रसिङ सुरु गरिएको उद्योगले यसपालि करिब दुई साता ढिलोगरी उखु पेल्न थालेको हो। तर, क्रसिङ सुरु भएको पहिलो दिन उद्योगमा १५ हजार क्विन्टलभन्दा कम उखु पुगेको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहे पनि हाल उपलब्ध उखु अत्यन्त न्यून छ। “घान चलाउनै कठिन भएको छ, उखु अभावकै कारण रोकेर–रोकेर क्रसिङ गर्नुपरेको छ,” उनले बताए। उद्योगलाई नियमित सञ्चालनका लागि कम्तीमा ३० हजार क्विन्टल उखु आवश्यक पर्ने उनको भनाइ छ ।

उता किसानहरू भने चिसो मौसमका कारण उखु कटान र ढुवानीमा समस्या भइरहेको बताउँछन्। भङ्गाहा–४ का किसान अरुण गिरीका अनुसार अत्यधिक जाडोले मजदुर नपाउँदा उखु समयमै उद्योगसम्म पुर्याउन कठिन भएको हो। “अब केही दिनमै अवस्था सहज हुन्छ,” उनले भने ।
यस वर्ष सरकारले मङ्सिर २२ गते उखुको मूल्य निर्धारण गर्दै प्रतिक्विन्टल ६२० रुपैयाँ र ७० रुपैयाँ अनुदान तोकेको छ। गत वर्षभन्दा मूल्य केही बढेपछि किसानहरूले आंशिक सन्तोष व्यक्त गरेका छन्, यद्यपि उनीहरूको माग अझै बढी मूल्यको रहेको छ ।
जिल्लामा यस वर्ष करिब ९ हजार ६ सय बिघामा उखुखेती गरिएको छ। उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार पाँच हजार बिघामा खुट्टी र चार हजार ६ सय बिघामा मुडन उखु खेती गरिएको छ ।

