गाैशाला, पुस ९ गते ।
इलाका प्रहरी कार्यालय बर्दिवासले स्थापना भएको करिब चार दशकपछि आफ्नै जग्गाको औपचारिक भोगाधिकार प्राप्त गरेको छ। २०४२ सालमा तत्कालीन प्रहरी महानिरीक्षक स्व. दिलबहादुर लामाद्वारा उद्घाटन गरिएको यस कार्यालयले अब स्थायी भवन निर्माण गर्न सक्ने अवस्था बनेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले मंगलबार इलाका प्रहरी कार्यालय बर्दिवासको नाममा भू–उपयोग प्रमाणपत्र प्रदान गरेको मालपोत कार्यालय बर्दिवासले जनाएको छ। प्रमाणपत्रअनुसार प्रहरी कार्यालयले १ बिघा ६ कठ्ठा ७ धुर जग्गाको भोगाधिकार प्राप्त गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमले सर्वपक्षीय सहयोग र समन्वयका कारण लामो समयदेखि अल्झिएको प्रक्रिया सफलतापूर्वक टुंगिएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार अब कार्यालयका लागि आवश्यक भौतिक संरचना निर्माणको बाटो खुलेको छ ।

स्थानीयवासीहरूले पनि प्रहरी कार्यालयले आफ्नै जग्गाको स्वामित्व प्राप्त गर्नुले ४० वर्षदेखि कायम समस्या समाधान भएको भन्दै यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।

