महेश कुमार दास
जलेश्वर, पुस ९ गते ।
महोत्तरी जिल्लामा शीतलहर र चिसो तीव्र बन्दै गएपछि सर्वसाधारणको जिउज्यान जोगाउन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई ‘हाइ अलर्ट’ अवस्थामा रहन निर्देशन दिइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुधबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग आकस्मिक छलफल गर्दै आवश्यक तयारी तुरुन्त अघि बढाउन निर्देशन दिनुभएको हो ।
बैठकमा प्रजिअ यादवले चिसोका कारण मानवीय क्षति हुन नदिन स्थानीय सरकारको भूमिका निर्णायक हुने बताउँदै अहिलेको अवस्थालाई सामान्य रूपमा नलिन आग्रह गर्नुभयो। चिसोबाट जोखिममा रहेका बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई प्राथमिकतामा राखेर राहत तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्न उहाँले निर्देशन दिनुभयो ।

जिल्ला वन कार्यालय महोत्तरीसँग दाउराको पर्याप्त भण्डारण रहेको जानकारी दिँदै आवश्यकता अनुसार स्थानीय तहले तोकिएको दरमा दाउरा खरिद गरी सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन सक्ने बताइएको छ। वडास्तरमै पुगेर वास्तविक पीडित पहिचान गरी सहयोग पुर्याउनुपर्ने विषयमा पनि बैठकमा जोड दिइएको थियो।
सरकारले वितरणमुखी कार्यक्रम स्थगित गरे पनि चिसो अत्यधिक बढेकाले मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै कम्बल, न्यानो कपडा तथा अस्थायी तापको व्यवस्था गर्न सम्बन्धित निकायलाई समन्वय गर्न आग्रह गरिएको प्रजिअ यादवले जानकारी दिनुभयो।
त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई पनि आ–आफ्नो क्षेत्राधिकारभित्र चिसोबाट प्रभावित नागरिकको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।

तराई–मधेशमा बाक्लो हुस्सु लागिरहेकाले सवारी दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीसँग सहकार्य गरी सडक सुरक्षाका लागि संकेत चिह्न, रिफ्लेक्टर लाइट तथा चेतनामूलक उपाय अपनाउन स्थानीय तहलाई सहयोग गर्न भनिएको छ ।
चिसोका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले स्वास्थ्य चौकीदेखि अस्पतालसम्म आकस्मिक उपचार सेवा चुस्त बनाउने तथा औषधि उपलब्धतामा कुनै कमी नआउने व्यवस्था मिलाउन पनि बैठकले जोड दिएको छ ।
हरेक वर्ष चिसो मौसममा महोत्तरीमा मानवीय क्षति हुँदै आएको सन्दर्भ उल्लेख गर्दै यस वर्ष कुनै पनि नागरिकको ज्यान जाने अवस्था आउन नदिन सबै सरोकारवाला निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गरिएको छ ।

