काठमाडौं : खरसाङका साहित्यकार तथा कथाकार निरङ्कर थापालाई मिरिकमा आयोजित एक विशेष साहित्यिक समारोहमा चौथो शशिप्रभा स्मृति पुरस्कार–२०२५ प्रदान गरिएको छ । साहित्य सुनौँ परिवार मिरिक र रिपोर्टर्स क्लब मिरिकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनको उपन्यास कृति ‘मार्साङ’ लाई उत्कृष्ट ठहर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारस्वरूप उनलाई खदा अर्पण गरी टोपी लगाइदिइनुका साथै दोसल्ला ओढाएर सम्मान गरियो। साथै, पुरस्कार चिन्ह र नगद ५० हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । चौथो शशिप्रभा स्मृति पुरस्कार अलंकरण समारोहको अध्यक्षता साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष अमर दुङमाली राईले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्राध्यापक डा. कबीर बस्नेत उपस्थित थिए ।
विशिष्ट अतिथिहरूमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्य आशा मुखिया लामा, गोर्खा जनपुस्तकालय खरसाङका सचिव तथा कवि विनोद रसाइली, पुरस्कार जुरी सदस्य अरुणचन्द्र कुलुङ, साहित्यकार राजबहादुर राई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुआत जातीय कवि अगमसिंह गिरी र स्वर्गीय शशिप्रभा बान्तावाको तस्वीरमा दीप प्रज्ज्वलन गरी गरिएको थियो। कवि तथा पत्रकार मुस्कान राई खेसहाङ र अजम प्रधानले सञ्चालन गरेको कार्यक्रममा साहित्य सुनौँ परिवारका सचिव वाईएन ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सांस्कृतिक प्रस्तुती अन्तर्गत कलाकार कैलाश राईले सेक्सोफोन मार्फत धुन प्रस्तुत गरे भने गायिका भावना थापाले गीत गाएर कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन् । शशिप्रभा स्मृति पुरस्कारका प्रायोजक एवं वरिष्ठ साहित्यकार विजय बान्तावा कैलाशीले आफ्नी धर्मपत्नी शशिप्रभा बान्तावाको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारलाई निरन्तर, पारदर्शी र विवादरहित रूपमा अघि बढाइँदै आएको जानकारी गराए ।
कार्यक्रममा दुई चरणमा कवि गोष्ठी पनि आयोजना गरिएको थियो, जसमा महेन्द्र स्याङ्बो, शरद सुब्बा, पी. लक्की शेर्पा, कविता राई ‘गाउँले’, विनोद रसाइली, सबीर दिलपाली, शान्ता प्रकाश राई तथा पवित्र लामाले आफ्ना कविता वाचन गरेका थिए । यसै अवसरमा साहित्य सुनौँ मिरिकद्वारा प्रकाशित पत्रिका ‘सन्दुक’ को अतिथिहरूको हातबाट लोकार्पण गरिएको थियो ।
पुरस्कार ग्रहण गर्दै कथाकार निरङ्कर थापाले यस सम्मानले आफूमा अझ जिम्मेवारी थपिएको महसुस भएको बताउँदै निरन्तर सिर्जनामा लागिरहने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि डा. कबीर बस्नेत र सभाध्यक्ष अमर दुङमाली राईले पनि साहित्य र सिर्जनाको महत्वबारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पुरस्कार जुरी सदस्य अरुणचन्द्र कुलुङलाई प्रायोजकको तर्फबाट सम्मान गरिएको थियो भने उनले समेत मन्तव्य राखेका थिए। साथै, निरङ्कर थापाको उपन्यास ‘मार्साङ’ माथि प्रवेस हाङखिमले समालोचनात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
उल्लेखनीय छ, विजय बान्तावा कैलाशीले विगत चार वर्षदेखि आफ्नी पत्नी शशिप्रभा बान्तावाको स्मृतिमा यो पुरस्कार स्थापना गर्दै आएका छन् ।
यस वर्ष पुरस्कारका लागि प्राप्त ६५ कृतिमध्ये १० कृति छनोट गरिएको थियो। तीमध्ये जुरी सदस्यहरू डा. सञ्जय बान्तावा, प्राध्यापक मेघनाथ छेत्री र अरुणचन्द्र कुलुङले निरङ्कर थापाको ‘मार्साङ’ लाई अन्तिम रूपमा पुरस्कारका लागि चयन गरेका हुन्।
साहित्यकार निरङ्कर थापाका यसअघि प्रकाशित कृतिहरूमा कथा सङ्ग्रह ‘पछि फर्केर हेर्दा’ (२०१३), ‘झरेको फूल’ (२०१५), ‘एक छिमल जीवन’ र ‘मोह रंग’ (दुवै २०१८) रहेका छन्।

