राजेश सिंह
गाैशाला, पुस१६ गते ।
बढ्दो जाडो तथा शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै महाेत्तरी जिल्लाकाे गौशाला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा दुई दिन जाडो विदा दिने निर्णय गरेको छ ।
गौशाला नगरपालिका नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार सामुदायिक, संस्थागत तथा धार्मिक सबै विद्यालयहरूमा भाेली पुस १७ गते र १८ गते गरी दुई दिन जाडो विदा दिइएको हो । पछिल्ला केही दिनदेखि मौसम प्रतिकूल भई अत्यधिक चिसो बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो निर्णय गरिएको नगर प्रमुख डा. दिपेन्द्र महताेले जानकारी दिनुभयो ।
नगरपालिकाले जारी गरेको सूचनामा उक्त जाडो विदा वार्षिक विदाबाट कट्टा हुने गरी लागू गरिएको स्पष्ट गरिएको छ । साथै सम्बन्धित सबै विद्यालयलाई सोहीअनुसार पठनपाठन व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
चिसो मौसमका कारण बालबालिकामा रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले अभिभावकहरूलाई समेत सतर्क रहन नगरपालिकाले आग्रह गरेको छ ।


