पवन प्रसाद साह
बिरगंज, पुस १९ गते ।
बिरगञ्ज महानगरपालिका–१० घडिअर्वास्थित श्मशान घाट परिसरमा अवस्थित ऐतिहासिक शिव–पार्वती मन्दिरको व्यवस्थापनका लागि नयाँ नेतृत्व चयन गरिएको छ । स्थानीयवासीहरूको शनिबार बिहान सम्पन्न भेलाले अजय गुप्ताको अध्यक्षतामा शिव–पार्वती मन्दिर व्यवस्थापन समितिको तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो ।
समितिको उपाध्यक्षमा नन्दु साह कानु, सचिवमा बन्टीलाल साह कानु तथा कोषाध्यक्षमा राकेश साह कानु चयन भएका छन्। यस्तै, वीरगञ्ज–१० का पूर्व वडासदस्य अरबिन्द साहलाई समितिको सल्लाहकारमा चयन गरिएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
भेलाले समितिका अन्य सदस्यहरू मनोनयन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष गुप्तालाई सर्वसम्मत रूपमा प्रदान गरेको छ। साथै, नवगठित तदर्थ समितिलाई आगामी तीन महिनाभित्र संस्थाको विधान तयार गरी कानुनी मान्यता प्राप्त गर्ने जिम्मेवारीसमेत दिइएको छ ।
नयाँ समितिले मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वको संरक्षण गर्दै व्यवस्थापनलाई व्यवस्थित बनाउने र श्रद्धालुहरूको सुविधा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

