गाैशाला, पुस २७ गते ।
महाेत्तरीकाे एकडारा गाउँपालिका–५ स्थित बहेडा बजारमा कोल्हुवा–बगेया बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ८ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
साधारणसभाको अध्यक्षता संस्थाकी अध्यक्ष रीना कुमारीले गर्नुभएको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गगन देव यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
प्रमुख अतिथि यादवले सहकारीमार्फत नियमित बचत गर्ने संस्कारले भविष्य सुरक्षित बनाउने बताउँदै आम्दानीको केही अंश सहकारीमा जम्मा गर्न सके सन्ततिको आर्थिक विकासका लागि आधार तयार हुने धारणा व्यक्त गर्नुभयो । उहाँले कतिपय ‘क’ वर्गका बैंकहरू समेत सहकारीकै यात्राबाट स्थापित भएको उदाहरण प्रस्तुत गर्दै सहकारीमा लगानी गर्नु दीर्घकालीन फाइदाको विषय भएको उल्लेख गर्नुभयो ।
वडा अध्यक्ष श्याम चौधरीले स्थानीय स्तरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थामा लगानी गर्न सबैलाई आग्रह गर्दै बचत संस्कारले गाउँको आर्थिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै, कार्यालय प्रमुख विशाल कुमार दासले संस्थाले विगत आठ वर्षदेखि निरन्तर प्रगति गर्दै सदस्यहरूको आर्थिक अवस्था सुधारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको जानकारी दिनुभयो ।
साधारणसभाको अवसरमा उत्कृष्ट १० जना बचतकर्तालाई सम्मानपत्रसहित उपहार प्रदान गरिएको थियो। सम्मानित हुनेमा रामप्रीत यादव, अञ्जित पाण्डेय, हसरत अंसारी, इन्द्रा कुमारी मण्डल, डा. नागेन्द्र पण्डित, डा. महेश साह, रुन्ची कुमारी, ललित राम तथा राम सोहन पासवान रहेका छन् ।
यसैगरी, संस्थामा कार्यरत सात जना कर्मचारीलाई समेत प्रोत्साहनस्वरूप उपहार प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय सर्वसाधारण, शेयर सदस्य तथा अतिथिहरू गरी ४०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। साधारणसभा सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको सहकारीले जनाएको छ ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष राम नारायण साह, वडा अध्यक्ष श्याम चौधरी, शिव नारायण यादव, कार्यालय प्रमुख विशाल कुमार दास, शिवशरण दास, मनरा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक श्याम सिंह, मो. आलम अंसारी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।





