पवन प्रसाद साह
बिरगंज, पुस २७ गते ।
नेपाल राष्ट्रवाद संघले राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस वीरगंजमा भव्य रूपमा मनाएको छ ।
संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय नागरिक, युवा, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम वीरगंजको घण्टाघर चोकबाट सुरु भई माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ, पुरानो बसपार्क, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीका क्रममा सहभागीहरूले ढोल–बाजासहित “राजा आउ देश बचाउ”, “हिन्दु राष्ट्र कायम गर”, “धर्मनिरपेक्षता खारेज गर”, “संघीयता खारेज गर” तथा “गणतन्त्र धोका हो” लगायतका नाराहरू लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष जनकलाल शाहले गणतन्त्र जनताको माग नभई केही नेताहरूको स्वार्थका कारण लागू भएको दाबी गरे। गणतन्त्र आएपछि देश कमजोर बन्दै गएको र विदेशी शक्तिको प्रभाव बढेको भन्दै देश जोगाउन राजसंस्थाको आवश्यकता रहेको उनले बताए ।
त्यसैगरी जि.बि.स. पर्साका पूर्व सभापति शम्भु प्रसाद चौरसियाले मुलुक विदेशी सहायता र अमेरिकी डलरको भरमा चलेको आरोप लगाए। राजतन्त्र पुनःस्थापना भए मात्र आर्थिक अवस्था सुधार हुने, युवाहरूले रोजगारी पाउने र किसानहरूको अवस्था उकासिने उनको दाबी थियो ।
विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य पृथ्वी झाले देशमा लोकतन्त्रभन्दा “लुटतन्त्र” हाबी भएको आरोप लगाए । उनले धर्मनिरपेक्षताको नाममा समाजमा धार्मिक द्वन्द्व बढाइएको दाबी गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल राष्ट्रवाद संघ पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाहसहित उमाशंकर प्रसाद, शम्भु प्रसाद चौरसिया, सन्तोष गुप्ता, विष्णु कुमार दास, पवन प्रसाद साह, चुलाइ मियाँ, विरेन्द्र साह, राधाकृष्ण चौहान, मदन ठाकुर, हरेराम रौनियार, धुरेन्द्र पटेल, उदित सहनी, दिपेन्द्र रौनियार, रामनारायण साह, शिवशंकर साह, अच्छेलाल साह, राजेश पटेल, प्रभु साहलगायतको सहभागिता रहेको थियो ।
वक्ताहरूले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै राष्ट्रिय एकता, स्वाधीनता तथा धर्म–संस्कृतिको संरक्षणका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका थिए । नेपाल राष्ट्रवाद संघले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्व स्थानीय तहमा प्रभावकारी रूपमा उजागर भएको जनाएको छ ।

