गाैशाला, माघ ८ गते ।
राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका क्रममा बालबालिकाको प्रयोग हुन नदिन सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेको छ।
परिषद्ले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचनपूर्व, निर्वाचनको दिन तथा निर्वाचनपछिका कुनै पनि गतिविधिमा बालबालिकालाई सहभागी नगराइने वातावरण निर्माण गर्न अनुरोध गरेको हो ।
बालबालिकाको अधिकार, हित र सुरक्षाको सुनिश्चितताका लागि निर्वाचनसम्बन्धी प्रचारप्रसार, जुलुस, आमसभा, कोणसभा, विजयोत्सव तथा अन्य राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न परिषद्ले सबै राजनीतिक दल, दलका भ्रातृ सङ्गठन र उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
परिषद्का अनुसार विद्यमान बालअधिकारसम्बन्धी कानुनी व्यवस्था तथा निर्वाचन आचारसंहिता–२०८२ ले १८ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी गतिविधिमा सहभागी गराउन स्पष्ट रूपमा निषेध गरेको छ ।
यसमा प्रचारप्रसार, स्वागत–सम्मान, सभा, जुलुस, अभियान, बैठक तथा राजनीतिक समूह वा संगठनमा संलग्न गराउने कार्यसमेत समावेश छ । परिषद्ले बालमैत्री निर्वाचन वातावरण निर्माण गर्न सबै सरोकारवाला पक्षको जिम्मेवार भूमिकाको अपेक्षा गरेको छ ।


