गाैशाला, माघ ९ गते ।
पश्चिमी वायुको प्रभावका कारण आजदेखि देशको मौसममा परिवर्तन आउने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमको बदली पश्चिम नेपालबाट सुरु भई क्रमशः अन्य भूभागमा फैलिनेछ । विशेषगरी पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका मौसमविद् डेभिट ढकालका अनुसार आज दिउँसोदेखि पश्चिम नेपालमा बादल लाग्न सुरु हुने र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ। आज रातिदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । यसका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिना पर्ने सम्भावना पनि औंल्याइएको छ ।
मौसममा शनिबारदेखि केही सुधार देखिए पनि बदलीको असर देशभर कायम रहने र चिसो बढ्ने विभागले जनाएको छ । मौसम परिवर्तनका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।

