राजेश सिंह
गाैशाला : राष्ट्रियसभामा खाली हुन लागेको सदस्य पद पूर्तिका लागि आज देशभर मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि १८ सदस्यको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ सिटका लागि आज निर्वाचन भइरहेको हो ।
कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदका लागि सातै प्रदेशमा तोकिएका मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
प्रदेशगत रूपमा कोशीमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेसमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमतीमा हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान भइरहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेका प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान केन्द्र तोकिएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ । ती मतदाताहरूले सम्बन्धित मतदान केन्द्रमा मतदान गरिरहेका छन् ।

