सर्लाही, माघ ११ गते ।
पाइल्सको शल्यक्रिया गर्ने क्रममा नवलपुरमा एक युवतीको मृत्यु भएको मोहन आयुर्वेद औषधालय कानुनी रूपमा दर्ता नभएको पाइएको छ ।
लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीका अनुसार उक्त औषधालयले सञ्चालन अनुमति नलिई सेवा दिइरहेको थियो । उनले नगरपालिकाबाट कुनै पनि किसिमको स्वीकृति नलिएको औषधालयमा उपचारका क्रममा पुनर्वासकी १८ वर्षीया हंसु पासवानको आज दिउँसो मृत्यु भएको जानकारी दिएका छन् ।
लालबन्दी नगरपालिका–२ का वडाध्यक्ष किरण कुमार पासवानले अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थाहरूका कारण सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परेको बताए । उनले अनुमति बिना स्वास्थ्य संस्था खोली आर्थिक शोषण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यस्ता गतिविधिमाथि कडाइका साथ निगरानी र कारबाही आवश्यक रहेको धारणा व्यक्त गरे ।

