काठमाडौं, माघ १९ गते ।
सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीका अध्यक्ष भेष थापाका अनुसार आउँदो हप्ताभित्र काठमाडौंका सडकमा नेपालमै उत्पादित ईभीको परीक्षण गरिनेछ । उहाँले नेपालमा ११ र १४ सिट क्षमताका सार्वजनिक सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित परियोजना अघि बढाइएको जानकारी दिनुभयो ।
सुन्दर अटो इन्जिनियरले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ। विद्युतीय सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले नेपालमै पहिलोपटक ‘सुन्दर चार्जिङ स्टेशन’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।
अध्यक्ष थापाका अनुसार तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणाबाट नयाँ ईभी एसेम्बल गर्ने योजना विकसित भएको हो । सोही अवधारणाअनुसार कम्पनीले नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्य लिँदै विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाएको हो ।

