काठमाडौं, माघ २४ गते ।
वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । बिहानै छायांकनमा जान तयारी अवस्थामा रहेका बेला भएको उनको आकस्मिक निधनले नेपाली मात्र होइन, भारतीय फिल्म तथा टेलिसिरिज क्षेत्रलाई समेत शोकमा डुबाएको छ ।
अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ ले सुनिल थापालाई बिहान उठाउनुपर्ने थियो। तर उठाउन जानुअघि नै थापा सधैंका लागि अस्ताएको दुःखद खबर सुन्नुपरेको उनले बताएका छन्।
१९ मे १९५७ मा जन्मिएका थापाले चार दशकभन्दा बढी समय अभिनय, मोडलिङ, खेलकुद र फिल्म उद्योगमा योगदान दिए। उनको करिअर मोडलिङबाट सुरु भएको हो। सन् १९७४ मा मुम्बईमा रहँदा उनले बिन्नी र माफतलालजस्ता प्रतिष्ठित ब्रान्डका लागि मोडलिङ गरे। त्यही समय उनी फुटबल खेलाडी र फोटो पत्रकारका रूपमा पनि सक्रिय थिए ।
सन् १९८१ मा भारतीय फिल्म ‘एक दुजे के लिए’ मार्फत बलिउडमा डेब्यू गरेका थापा कालजयी नेपाली फिल्म ‘चिनो’ बाट नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय बने। ‘चिनो’ मा निभाएको राते काइँलाको भूमिकाले उनलाई नेपाली सिनेमाका सबैभन्दा स्मरणीय खलनायकमध्ये एकको रूपमा स्थापित गर्यो ।
१३८ भन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका थापाको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘एक्लो’ हो। यसैगरी छायांकन सम्पन्न भइसकेका ‘राम नाम सत्य’ र तुलसी घिमिरे निर्देशित ‘पहाड’ प्रदर्शनको तयारीमा छन् । प्रियंका चोपडा अभिनीत बलिउड फिल्म ‘मेरी कम’ (२०१४) मा प्रशिक्षकको भूमिकामा देखिएका थापाले फिल्मफेयर अवार्डमा मनोनयन समेत प्राप्त गरेका थिए ।
खलनायक भूमिकालाई नयाँ उचाइ दिने कलाकारका रूपमा परिचित थापाले नेपाली सिनेमामा खलनायक पात्रलाई केवल नकारात्मक नभई बौद्धिक, सशक्त र मानवीय रूपमा प्रस्तुत गरे। यही विशेषताले उनलाई बहुआयामिक कलाकारको रूपमा चिनायो ।
उनको अभिनय शैली, संवादको गहिराइ, मौनतामार्फत देखिने प्रभाव र चरित्रप्रतिको समर्पण नेपाली फिल्म इतिहासमा सधैं स्मरणीय रहनेछ। सुनिल थापाको निधनसँगै नेपाली सिनेमाले एक प्रभावशाली कलाकार र खलनायक पात्रको ट्रेन्ड–सेटर गुमाएको छ।

