सिरहा, माघ २५ गते ।
सिरहा नगरपालिका–१७ माडरस्थित काली मन्दिर नजिक फेला परेको एक बालकलाई प्रहरीले सकुशल रूपमा परिवारको जिम्मा लगाएको छ ।
शुक्रबार बालक अलपत्र अवस्थामा रहेको जानकारी प्राप्त भएपछि सिरहा टुडेको टोलीले तत्काल ईलाका प्रहरी कार्यालय माडरलाई जानकारी गराएको थियो। सूचनाको आधारमा प्रहरीले आवश्यक खोजतलास तथा पहिचान प्रक्रिया अघि बढाएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा ती बालक जनकपुर उपमहानगरपालिका–२४, बसहिया निवासी भएको खुलेको हो । सबै प्रक्रिया पूरा गरेपछि शनिबार बालकलाई उनका परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
बालक सकुशल रूपमा परिवारसँग पुनर्मिलन भएपछि परिवारले राहत महसुस गरेको छ । समयमै प्राप्त सूचना र प्रहरीको सक्रियताका कारण सम्भावित जोखिम टरेको बताइएको छ ।

