विराटनगर, माघ २९ गते ।
झापा र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २८ गते इलाका प्रहरी कार्यालय गौरीगंज, झापाबाट खटिएको प्रहरी टोलीले गौरीगंज–२ मा मे १ ह ५६६७ नम्बरको अटो टेम्पो शंकाको आधारमा चेकजाँच गरेको थियो। जाँचका क्रममा अटोको म्याटभित्र लुकाई राखिएको ६ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा अटो चालक शिवसताक्षी–२ का दिलकुमार विश्वकर्मा, सवार गौरादह–८ का अमन ताजपुरिया, धरान–१६ की दिपा परियार र बेलबारी–९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बराहक्षेत्र–५ कालाबन्जार चोकबाट बराहक्षेत्र–६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुफ दुई बोतलसहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबैजनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

