गाैशाला, माघ २९ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय झापाको सभाहलमा आज सुरक्षा समन्वयसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रहरी युनिटका प्रमुखहरूको सहभागिता रहेको थियो । छलफलमा निर्वाचन अवधिभर अपनाइने सुरक्षा रणनीति, सम्भावित चुनौती तथा समन्वयका विषयमा विस्तृत विचारविमर्श गरिएको जनाइएको छ ।
प्रहरी उपरीक्षक खड्काले निर्वाचन प्रक्रिया मर्यादित र शान्तिपूर्ण बनाउन सबै युनिटलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन् । उनले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउँदै मतदातालाई सुरक्षित र सहज वातावरणमा मतदान गर्ने सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

