सुनसरी, फागुन २ गते ।
सशस्त्र प्रहरी बल नेपाल ले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इटालीमा बनेको पेस्तोल र त्यसको तीन राउन्ड गोलीसहित भारतको अररिया ग्रामपञ्चायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई कोशी गाउँपालिका–३ जमुवा स्थित सीमा नाकाबाट शुक्रबार साँझ पक्राउ गरिएको हो । उनी भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्दै गरेको अवस्थामा समातिएका थिए ।
सशस्त्र प्रहरीले उनका साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १०० ग्राम पदार्थ, नेपाली रुपैयाँ ७ हजार ५ सय, भारतीय रुपैयाँ ९ हजार ३ सय ८० तथा मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ। बरामद वस्तुहरू परीक्षण तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने तयारी गरिएको छ ।
यसैबीच, आसन्न निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले इलाम, झापा, मोरङ र सुनसरीका सीमा नाकाको अनुगमन गर्दै अवैध गतिविधि नियन्त्रणमा कडाइ गर्न मातहतका युनिटलाई निर्देशन दिएका छन् ।
सीमा क्षेत्रबाट हुने अवैध हतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी तीव्र बनाएको जनाएको छ ।

