जनकपुरधाम, फागुन ३ गते ।
आगामी निर्वाचनको माहोल तातिरहेका बेला धनुषामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई सांगठनिक धक्का लागेको छ। एमालेका युवा नेता लभ अधिकारीले पार्टी परित्याग गरी नेपाली कांग्रेस मा प्रवेश गरेका छन् ।
जनकपुरधाममा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा धनुषा क्षेत्र नं. ३ का उम्मेदवार विमलेन्द्र निधि ले अधिकारीलाई सदस्यता प्रदान गर्दै फूलमाला र खादा ओढाएर स्वागत गरे। सो अवसरमा निधिले ऊर्जावान् युवाको आगमनले पार्टीको अभियान थप बलियो हुने र लोकतन्त्रको रक्षा तथा विकासको यात्रामा सहयोग पुग्ने बताए। उनले नवप्रवेशी अधिकारीलाई पार्टीभित्र उचित जिम्मेवारी र सम्मान दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
पार्टी प्रवेशपछि अधिकारीले वर्तमान राजनीतिक अवस्थामा मधेशको हकहित र लोकतन्त्र सुदृढ बनाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको धारणा राखे। निधिको विकासमुखी सोच र नेतृत्वलाई साथ दिन आफू कांग्रेसमा आएको उनले बताए ।
धनुषा–३ मा कांग्रेसका निधि र एमालेकी उम्मेदवार जुली महतो बीच प्रतिस्पर्धा हुँदै आएको छ। यस्तो अवस्थामा एमालेका सक्रिय युवा नेता कांग्रेसमा प्रवेश गरेपछि स्थानीय राजनीतिक समीकरणमा प्रभाव पर्ने विश्लेषण गरिएको छ ।

