झापा, फाल्गुन ४ गते ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट गत भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोलसहित म्याग्जिन र गोली बरामद भएको छ ।
विशेष सूचनाको आधारमा झापा कन्काई नगरपालिका–८, मिश्रा टोलस्थित तुल बहादुर थापा मगरको घरमा लागूऔषध तथा अवैध हातहतियार लुकाइ राखिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोली र लागूऔषध ब्युरो काकभिट्टाबाट खटिएको संयुक्त टोलीले घरमा खानतलासी गरेको थियो ।
खानतलासीको क्रममा तुल बहादुरका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रम भित्र लुकाई राखेको CF 989 MM पेस्तोल एक थान, सोही पेस्तोलको ४० राउण्ड गोली र म्याग्जिन एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानले उक्त पेस्तोल, म्याग्जिन र गोली गत भाद्र २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पुष्टि गरेको छ ।
हातहतियार लुटपाट घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ बस्ने २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिइएको छ। उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
फरार रहेका सौगात थापा मगरको खोजतलास कार्य अहिले पनि जारी रहेको छ ।

