गाैशाला, फाल्गुन २० गते ।
प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको एक दिनभित्रै प्रत्यक्ष प्रणालीतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित निर्वाचन आयोग तयारीमा जुटेको छ। फागुन २१ गते हुने मतदानपछि मतपेटिका सुरक्षित रूपमा संकलन भएलगत्तै गणना कार्य थालिने आयोगले जनाएको छ ।
पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रत्यक्षतर्फको मतगणना छिटो टुंग्याउने कार्ययोजना बनाइएको जानकारी दिए। उनका अनुसार प्रत्यक्ष प्रणालीको नतिजा सार्वजनिक भएपछि मात्रै समानुपातिकतर्फको गणना अघि बढाइनेछ ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा मतगणनाको व्यवस्थापनबारे निर्देशन पठाइसकिएको आयोगले जनाएको छ। गणना प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन मतगणना स्थलमा सिसिटिभी जडान, तारबार तथा आवश्यक प्राविधिक सामग्रीको व्यवस्था गरिएको छ ।
दुर्गम तथा हिमाली क्षेत्रबाट मतपेटिका शीघ्र संकलनका लागि विशेष योजना लागू गरिएको छ। आवश्यक परे हेलिकप्टर प्रयोग गरिनेछ। आयोगका अनुसार १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हवाई माध्यमबाट ल्याइनेछ, जसका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिनेछ ।
सुरक्षा व्यवस्थामा भने पूर्ववत् तीन तहको घेराबन्दी कायम रहनेछ—पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना खटिनेछन् ।
आयोगले मतपेटिका संकलन र भण्डारणका क्रममा दलका प्रतिनिधिको लाहाछाप सुरक्षित राखिने स्पष्ट पारेको छ। मतगणना सुरु गर्नु अघि प्रतिनिधिहरूले छाप यथास्थितिमा रहेको पुष्टि गरेपछि मात्र गणना प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

