गाैशाला, फाल्गुन २६ गते ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सकिए पनि समानुपातिकतर्फको मतगणना अझै जारी छ । आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ मत गणना हुँदा विभिन्न दलहरूको मतपरिणाम पनि क्रमशः स्पष्ट हुँदै गएको छ ।
हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै समानुपातिक मत पाएको देखिएको छ ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ४९ लाख ६७ हजार ४३ मत प्राप्त गरेको छ। यो मतका आधारमा रास्वपाले समानुपातिकबाट मात्रै करिब ५८ सिट थप्ने सम्भावना देखिएको छ।
प्रत्यक्षतर्फ १८ सिट जितेर दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले समानुपातिकतर्फ १६ लाख ८४ हजार १७५ मत पाएको छ। हालसम्मको मतअनुसार कांग्रेसले १९ सिट थप पाउने आकलन गरिएको छ ।
यसैगरी प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमाले ले समानुपातिकमा १४ लाख २४७ मत प्राप्त गरेको छ। यो मतका आधारमा एमालेले १६ सिट थप्ने सम्भावना देखिएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टी ले समानुपातिकमा ७ लाख ६१ हजार ६८० मत पाएको छ, जसअनुसार उसले ९ सिट थप पाउन सक्ने अनुमान गरिएको छ ।
चार महिना अघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टी ले पनि उल्लेखनीय मत ल्याएको छ। प्रत्यक्षतर्फ ३ सिट जितेको उक्त पार्टीले समानुपातिकमा ३ लाख ४९ हजार १४० मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेको छ। यस आधारमा उसले ४ सिट थप्ने सम्भावना देखिएको छ ।
यस्तै, प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकमा ३ लाख २३ हजार ५३५ मत पाएको छ। हालसम्मको मतका आधारमा राप्रपाले पनि ४ सिट थप पाउने सम्भावना देखिएको छ । समानुपातिक मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउँदा सिट संख्यामा केही हेरफेर हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

