गाैशाला, फाल्गुन २८ गते ।ल
महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारा स्थित भिट्टामोड नाकाबाट एक महिलालाई भारततर्फ लैजान खोजिएको मानव बेचबिखनको प्रयास प्रहरीले विफल पारेको छ। घटनामा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार फागुन २५ गते दिउँसो करिब १२:४० बजे चार जना भारतीय नागरिकले एक नेपाली महिलालाई विवाहको बहाना बनाएर प्रलोभनमा पार्दै भारततर्फ लैजान खोजेको सूचना प्राप्त भएको थियो। उक्त सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा पुगेर सोधपुछ गर्दा महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारत लैजान लागिएको तथ्य खुलेको हो ।
घटनामा संलग्न भएको आरोपमा भारतको गुजरात राज्यका ३६ वर्षीय सदिक बाक्सु भुर्च, ५६ वर्षीय हसम अब्दुला पटेलिया, २८ वर्षीय किसन भगवानभाई गढिया र २८ वर्षीय सुनिल भगवानभाई गढियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा नेपालतर्फबाट पनि तीन जनाको संलग्नता रहेको खुलेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका–३ बस्ने ५० वर्षीया महिला, जो पीडितकी नक्कली आमा बनेकी थिइन्, महोत्तरीको भंगहा नगरपालिका–६ बस्ने १८ वर्षीया युवती, जो नक्कली बहिनीको भूमिकामा थिइन्, र भंगहा नगरपालिका–८ का नुरी बाबा भनिने नु अली, जो सम्पर्क मिलाउने मुख्य व्यक्ति रहेको आरोप छ, उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै मानव बेचबिखनजस्ता अपराध रोक्न सीमा क्षेत्रहरूमा निगरानी बढाइएको प्रहरीको भनाइ छ ।


