गाैशाला, फाल्गुन २९ गते ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।
लामो समयदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको उपचारका क्रममा भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ। केही समययता स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा उपचार गरिँदै आएको थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि शुक्रबार बिहान उपचारकै क्रममा उनको निधन भएको हो ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरस्थित गुण्डुमा रहेको ओली निवासमा लैजाने तयारी गरिएको परिवारले जनाएको छ। परिवारका सदस्य, आफन्त तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्न सक्ने गरी केही समय निवासमै राखिनेछ। त्यसपछि आजै काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। उनका जेठा छोरा केपी शर्मा ओली नेपाली राजनीतिका प्रभावशाली नेता हुन्। उनी पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका छन् र हाल नेकपा (एमाले) का अध्यक्षका रूपमा सक्रिय छन् ।
मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत पनि धेरैले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

