गाैशाला, फाल्गुन २९ गते ।
प्रतिनिधिसभा निर्वाचनमा १०८ वर्षको उमेरमा पनि मतदानमा सहभागी भएकी जलेश्वर नगरपालिका–५ चौरियाकी जानकीदेवी महरालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सम्मान गरेको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा जानकीदेवीले मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेपछि लोकतन्त्रप्रतिको उनको प्रतिबद्धता र नागरिक कर्तव्यप्रतिको जागरूकताको कदर गर्दै प्रशासनले सम्मान गरेको हो ।
सम्मानका क्रममा उनलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गरिएको थियो। साथै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न सामग्री प्रदान गर्दै उनको सक्रिय सहभागिताको प्रशंसा गरेको जनाएको छ ।
उच्च उमेरमा पनि मतदानमा सहभागी भएर उनले लोकतान्त्रिक प्रक्रियाप्रति नागरिकको जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको भन्दै स्थानीय तहका प्रतिनिधि तथा प्रशासनले उनको कार्यलाई प्रेरणादायी भएको बताएका छन् ।
उनको सक्रियताले समाजका अन्य नागरिकलाई पनि निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित बनाउने विश्वास व्यक्त गरिएको छ।

