गाैशाला, चैत १२ गते ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत एमबीबीएस पहिलो ब्याच तथा एचए दोस्रो वर्षका विद्यार्थीहरूले सञ्चालन गरेको १८ दिने सामुदायिक स्वास्थ्य अध्ययन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको समापनसँगै आयोजित सामुदायिक प्रस्तुतीकरण कार्यक्रममा विद्यार्थीहरूले अध्ययन अवधिभर संकलन गरेका तथ्यांक तथा अनुभवहरू प्रस्तुत गरेका थिए। सो कार्यक्रम नगर प्रमुख मोहन पाण्डेयको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रमका क्रममा विद्यार्थीहरू नगरका विभिन्न वडामा घरघरमै पुगेर स्थानीय बासिन्दाको स्वास्थ्य अवस्था, स्वास्थ्य सेवा पहुँच तथा जनस्वास्थ्यसम्बन्धी समस्याबारे तथ्यांक संकलन गरेका थिए। प्रत्यक्ष रूपमा समुदायसँग जोडिएर गरिएको अध्ययनले स्थानीय स्वास्थ्य अवस्थाको वास्तविक चित्र प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।
संकलित तथ्यांकलाई स्थानीय तहले स्वास्थ्यसम्बन्धी योजना निर्माण, सेवा सुधार तथा जनस्वास्थ्य रणनीति तय गर्न उपयोग गर्न सकिने विश्वास व्यक्त गरिएको छ। साथै, यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीलाई समुदायसँग प्रत्यक्ष जोड्दै स्वास्थ्य सचेतना फैलाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।

