चन्दन रजक
सप्तरी : नेपाल पत्रकार महासंघमा नयाँ सदस्यता खुलाउन माग गर्दै सप्तरीका नवपुस्ताका पत्रकारहरूले आन्दोलन सुरु गरेका छन्। सदस्यताबाट वञ्चित रहँदै आएका पत्रकारहरूले आइतबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालय अगाडि एक घण्टा धर्ना दिएका हुन् ।
लामो समयदेखि शाखाले नयाँ सदस्यता वितरण नगरेको कारण आफूहरू संस्थागत अधिकारबाट वञ्चित भएको पत्रकारहरूको गुनासो छ। उनीहरूले महासंघलाई विधानअनुसार अविलम्ब नयाँ सदस्यता प्रक्रिया सुरु गर्न माग गरेका छन्।
यसअघि चैत्र ४ गते महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र सदस्यता प्रक्रिया अघि बढाउन आग्रह गरिएको थियो। तर तोकिएको समयभित्र माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिनुपरेको नयाँ सदस्यता संघर्ष समितिका संयोजक रुपेश यादवले जानकारी दिए।
संघर्ष समितिका अनुसार आन्दोलनको पहिलो चरणअन्तर्गत पाँच दिनसम्म दैनिक एक घण्टा महासंघ कार्यालय अगाडि धर्ना दिइनेछ। यस अवधिमा पनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिइएको छ।

