गाैशाला, चैत १७ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका वडा नम्बर ५ ले गौशाला बजारको सरसफाइ र व्यवस्थापनमा देखिएका समस्यालाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायलाई तीन दिनभित्र आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
वडा अध्यक्ष ओमप्रकाश गुप्ताले मंगलबार जारी गरेको सूचनामा गौशाला बजार ऐतिहासिक र महत्वपूर्ण व्यापारिक केन्द्र भए पनि पछिल्लो समय यसको अवस्था अत्यन्त अस्तव्यस्त बन्दै गएको उल्लेख गरिएको छ । बजार क्षेत्रमा जथाभावी फोहोर फालिने, नाला तथा ढल बन्द हुने, सडक अतिक्रमण र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणलाई समस्या भइरहेको जनाइएको छ ।
सूचनामा बजारको वर्तमान अवस्था सार्वजनिक स्वास्थ्य र वातावरणका लागि पनि चुनौतीपूर्ण बनेको भन्दै सम्बन्धित निकायले तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने बताइएको छ। साथै व्यवसायी र पसलधनीले समेत सरसफाइ तथा व्यवस्थापनमा आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गरिएको छ ।
गौशाला बजार हुलाकी राजमार्गसँग जोडिएको र पूर्व–पश्चिम राजमार्ग नजिक पर्ने भएकाले महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित रहेको छ। यस बजारले कृषि उत्पादन, पशुपालन तथा चौपाया कारोबारमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको जनाइएको छ ।
वडा कार्यालयले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र सरसफाइ, ढल मर्मत, सडक अतिक्रमण हटाउने तथा पार्किङ व्यवस्थापनका काम सुरु नभए थप कडा कदम चालिने चेतावनी दिएको छ। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय महोत्तरी, गौशाला नगरपालिका, प्रहरी कार्यालय गौशाला, इलाका प्रशासन कार्यालय तथा सशस्त्र प्रहरीलाई समेत जानकारी गराइएको छ ।


