काठमाडौं, चैत २० गते ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोज पत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा दाहाललाई शुक्रबार नियुक्त गरिएको हो ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। अब उनले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया समन्वय तथा अनुसन्धान सम्बन्धी कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा दाहालको लामो अनुभवलाई सरकारको मूलधारमा जोड्ने उद्देश्यले यो नियुक्ति गरिएको बताइएको छ ।
दाहालसँग रेडियो, टेलिभिजन, छापा तथा अनलाइन माध्यममा २० वर्षभन्दा बढीको व्यावसायिक पत्रकारिताको अनुभव छ। उनले पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल सञ्चार सिप तथा ‘अथेन्टिक लिडरसिप’ सम्बन्धी प्रशिक्षक समेत हुन् ।
‘कोभिडः नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तककी लेखक दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारिता सम्बन्धी पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।

