सिन्धुली, बैशाख १० गते ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति–सुरक्षामा नकारात्मक असर पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
सुनकोशी गाउँपालिका–३ निवासी श्रीकृष्ण विकको मृत्यु घटनासँग सम्बन्धित तथ्यहीन, भ्रामक तथा अनर्गल प्रचार भइरहेको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रहरीका अनुसार जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा रहेका विक गत सोमबार इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षभित्रको शौचालयमा रडमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा पीडित पक्षका प्रतिनिधि, जिल्लास्थित दलित संघ–संस्था तथा सरोकारवाला निकायको सहभागितामा समिति गठन भई काम सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनाको यथार्थ विवरण छानबिन समितिको कार्य सम्पन्न भएपछि सार्वजनिक गरिने स्पष्ट पारेको छ ।

