विराटनगर: नोबेल मेडिकल कलेजमा मृगौलाको पत्थरीको शल्यक्रियापछि एक बिरामीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका–६ निवासी ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। मृगौलामा पत्थरीको समस्या देखिएपछि उनलाई वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो। सोही दिन दुरबिन प्रविधिमार्फत शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ ।
शल्यक्रिया सफल भएको बताइए पनि त्यसपछि अब्जरभेसनमा राखिएका भण्डारीको स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएपछि परिवारजन आक्रोशित बनेका हुन् ।
मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै शनिबार बिहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन् ।
घटनापछि अस्पताल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

