रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट उदाएका विद्यार्थी नेता अब मधेशभर संगठन विस्तारको जिम्मेवारीमा
जनकपुरधाम, बैशाख १५ गते ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मधेश प्रदेशको संगठनलाई थप सशक्त र गतिशील बनाउने उद्देश्यसहित जनकपुरधामका सक्रिय विद्यार्थी नेता मनिष कुमार यादवलाई मधेश प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ। नेविसंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेको औपचारिक पत्रमार्फत यादवलाई उक्त जिम्मेवारी दिइएको हो ।
नेविसंघको विधान २०२७ (सातौं संशोधन २०७५) बमोजिम गठित प्रदेश समितिको संरचना अनुसार यादवलाई मधेश प्रदेश अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको पत्रमा उल्लेख छ ।
केन्द्रीय कार्यालय काठमाडौंबाट जारी गरिएको पत्रमा संगठनको विधि, विधान र मर्यादाभित्र रही मधेश प्रदेशमा नेविसंघलाई गतिशील, सशक्त र प्रभावकारी बनाउन विश्वास व्यक्त गरिएको छ ।
मनिष कुमार यादव विद्यार्थी राजनीतिमा परिचित र संघर्षशील नामका रूपमा चिनिन्छन्। उनी यसअघि जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका निर्वाचित स्ववियु सभापति भइसकेका छन्। क्याम्पस तहबाटै विद्यार्थी हकहित, शैक्षिक सुधार, शुल्क नियन्त्रण, पुस्तकालय व्यवस्थापन, परीक्षा प्रणालीको पारदर्शिता तथा विद्यार्थी आवाजलाई संस्थागत गर्ने अभियानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थी आन्दोलनबाट खारिएका यादवले रामस्वरूप रामसागर क्याम्पसमा रहँदा विभिन्न शैक्षिक तथा सामाजिक मुद्दामा अग्रपंक्तिमा उभिएर काम गरेका कारण उनी मधेशका युवामाझ लोकप्रिय विद्यार्थी नेताका रूपमा स्थापित भएका हुन्। स्ववियु सभापतिको कार्यकालमा उनले क्याम्पस प्रशासन र विद्यार्थीबीच समन्वयकारी भूमिका खेल्दै शैक्षिक वातावरण सुधारमा उल्लेखनीय पहल गरेको सहकर्मीहरू बताउँछन् ।
उनको यही सक्रियता, संगठनप्रतिको निष्ठा र मधेश प्रदेशभर विद्यार्थी जमातमा रहेको पहुँचलाई मूल्यांकन गर्दै नेविसंघ केन्द्रीय समितिले प्रदेश नेतृत्वको जिम्मेवारी दिएको राजनीतिक वृत्तमा चर्चा छ ।
नवनियुक्त प्रदेश अध्यक्ष यादवले मधेश प्रदेशका आठवटै जिल्लामा नेविसंघको संगठन विस्तार, निष्क्रिय इकाइहरू पुनर्जीवन, क्याम्पस केन्द्रित विद्यार्थी आन्दोलन, बेरोजगारी, शिक्षा शुल्क वृद्धि, छात्रवृत्ति, महिला विद्यार्थी सुरक्षा तथा गुणस्तरीय शिक्षाको सवाललाई प्राथमिकतामा राखेर अगाडि बढ्ने अपेक्षा प्रतिबद्धता व्यक्त गरेका छन् ।
“यो पद मेरा लागि सम्मान मात्र होइन, संघर्षको मूल्यांकन हो। अब मधेशका हरेक क्याम्पसमा विद्यार्थीको हक, अधिकार र गुणस्तरीय शिक्षाका पक्षमा नेविसंघलाई अझ सशक्त बनाउँदै लैजान्छु,” यादवले बताए ।


