काठमाडौं, बैशाख २९ गते ।
काठमाडौंकाे टोखा नगरपालिकाले उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चालन गरेको बजार अनुगमन अभियानअन्तर्गत ४६ वटा पसलमाथि कार्वाही गरेको छ ।
बैशाख २५ गतेदेखि नगरपालिकाका ११ वटै वडामा गरिएको अनुगमनमा व्यवसाय दर्ता नगरी सञ्चालन, नवीकरण अभाव, मूल्यसूची नराखिएको, म्याद नाघेका वस्तु बिक्रीमा राखिएको तथा सरसफाइ मापदण्ड उल्लंघनजस्ता गम्भीर कमजोरी फेला परेका हुन् ।
नगरपालिकाका अनुसार ३९ वटा पसललाई सचेत गराइएको छ भने ६ वटा व्यवसायलाई एक हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ। एक पसललाई पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
अनुगमनमा नगर प्रहरीसहित विभिन्न प्राविधिक निकाय, पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारसम्बन्धी संस्थाहरूको सहभागिता रहेको थियो। नगरपालिकाले आगामी दिनमा पनि बजार सुधार र उपभोक्ता संरक्षणका लागि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

