गाैशाला, बैशाख ३१ गते ।
महोत्तरीको बलवा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं. ११ रौजा बजारस्थित धमौरा स्वास्थ्य चौकीमा एक दिवसीय वृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जानकी मेडिकल कलेज शिक्षण अस्पताल, जनकपुरधामको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरबाट १८७ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। शिविरमा विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श र औषधी वितरण गरेका थिए ।
ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
स्थानीयवासीहरूले घर नजिकै विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गरेका छन् भने नगरपालिकाले आगामी दिनमा पनि यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


