जनकपुरधाम, जेष्ठ ७ गते ।
प्रादेशिक अस्पताल जनकपुरधाममा गर्भवती महिलाको शल्यक्रियाका क्रममा चिकित्सकीय लापरवाही भएको आरोप लागेपछि प्रसूति विभागमा कार्यरत दुई चिकित्सकलाई निलम्बन गरिएको छ ।
अस्पताल प्रशासन, पीडित परिवार, स्थानीयवासी तथा युवा अभियान्ताहरूबीच भएको छलफलपछि ९ बुँदे सहमति भएको हो। सहमतिअनुसार छानबिन प्रक्रिया सम्पन्न नहुन्जेल डा. धिरेन्द्र साह र डा. श्रेयालक्ष्मी साहलाई कामबाट निलम्बन गरिएको जनाइएको छ ।
पीडित पक्षले शल्यक्रियापछि महिलाको स्वास्थ्य अवस्था अत्यन्त जटिल बनेको र जीवन जोखिममा परेको आरोप लगाएका छन्। घटनापछि अस्पताल परिसरमा विरोध प्रदर्शनसमेत भएको थियो ।
छलफलमा सहभागी आन्दोलनरत पक्षले स्वास्थ्य सेवामा हुने लापरवाहीलाई सामान्य रूपमा लिन नसकिने भन्दै घटनाको निष्पक्ष छानबिन तथा दोषी ठहर हुनेमाथि कडा कारबाहीको माग गरेका छन् ।
सहमतिसँगै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको भए पनि छानबिन निष्पक्ष नभए वा पीडितले न्याय नपाए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
स्थानीयवासीहरूले पनि स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाहलाई थप जिम्मेवार र प्रभावकारी बनाउन सम्बन्धित निकायले कडा निगरानी तथा सुधारका कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

