गाैशाला, जेष्ठ २० गते ।
महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा गएराति डकैतीको प्रयास विफल पार्ने क्रममा गोली चल्दा एक दम्पती घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार मंगलबार राति ५/६ जनाको समूह डकैती गर्ने उद्देश्यले स्थानीय रामईश्वर यादवको घरमा प्रवेश गरेको थियो। घरधनी पक्षले प्रतिवाद गरेपछि डाँका समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली लागेर घरधनी २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया पत्नी किरण यादव घाइते भएका छन्। घाइते दुवै जनाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरधामस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ। घटनामा संलग्न समूहको खोजी तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको र घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको डीएसपी गोलेले जानकारी दिए ।

