गौशाला, जेष्ठ २२ गते
“समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ ५४औँ विश्व वातावरण दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै गर्दा महोत्तरीको बर्दिबास क्षेत्रमा पनि वातावरण संरक्षण, जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि तथा हरियाली प्रवर्द्धनका विविध कार्यक्रम सम्पन्न भएका छन्।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) ले जर्मनीस्थित Bread for the World र BMZ को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको Strengthen Disaster Risk Reduction and Climate Resilience Capacities in India and Nepal (SDRC) परियोजनाअन्तर्गत समुदाय तथा विद्यालयस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो। परियोजनाले विशेष गरी मधेश प्रदेशका सीमान्तकृत तथा विपन्न समुदायहरूको विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका असरप्रति अनुकूलन क्षमता विकास तथा जलवायु उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्य राखेको छ।

विश्व वातावरण दिवसको अवसरमा बर्दिबास नगरपालिका वडा नं. ७ अन्तर्गत किसाननगर र लकडाउन टोलमा वृहत् वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न प्रजातिका करिब ३०० बिरुवा रोपिएको आयोजकले जनाएको छ। राजवृक्ष, गुलमोहर, कल्की, धूपी, निलमोहर, अशोक तथा क्रिसमस ट्रीलगायतका वातावरणीय तथा सौन्दर्यात्मक दृष्टिले महत्वपूर्ण बिरुवाहरू समुदायमा वितरण गरी रोपिएको थियो।

वृक्षरोपण कार्यक्रम वडा नं. ७ का अध्यक्ष राम स्वगारत यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा देवी थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा CDPF नेपालका अध्यक्ष नागदेव यादव, सल्लाहकारद्वय केदार कोइराला र चुडामणि पोखरेल, कार्यकारी निर्देशक लक्ष्मी प्रसाद भट्ट, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, शिक्षक, युवा तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारी पनि भएको बताए। तीव्र रूपमा बढिरहेको जलवायु परिवर्तन, वन विनाश, तापक्रम वृद्धि तथा प्राकृतिक विपद्का चुनौतीहरूलाई सामना गर्न वृक्षरोपण, जैविक विविधता संरक्षण र सामुदायिक सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा रोपिएका बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि समुदायले स्वयं अग्रसरता देखाएको छ। बिरुवाको सुरक्षाका लागि आवश्यक घेराबार स्थानीय स्तरमा उपलब्ध सामग्री प्रयोग गरी निर्माण गरिएको छ। आयोजकका अनुसार बिरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण र व्यवस्थापनमा समेत समुदायको सक्रिय भूमिका रहनेछ।
यसै अवसरमा बर्दिबास नगरपालिका–५, चेरुस्थित श्री पञ्चधुरा माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले विद्यालय परिसरमा वृक्षरोपण गरी गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रराज पौडेलको अध्यक्षता तथा CDPF नेपालका उपाध्यक्ष सोमबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, वातावरणीय असन्तुलन, प्राकृतिक स्रोतको संरक्षण तथा युवाहरूको भूमिका जस्ता विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले वातावरण संरक्षणका लागि व्यक्तिगत व्यवहार परिवर्तन, प्लास्टिकको प्रयोग न्यूनीकरण, वृक्षरोपण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोगमा जोड दिएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप शैक्षिक सामग्री प्रदान गरिएको थियो। साथै विद्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरी विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय जिम्मेवारी र नेतृत्व विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी, जनता राष्ट्रिय माध्यमिक विद्यालय, बालुवा–१०, धमौरामा वातावरण तथा जलवायु परिवर्तन विषयक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद यादवको अध्यक्षता तथा वडा अध्यक्ष राजकुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा जलवायु परिवर्तनका कारण, प्रभाव, न्यूनीकरणका उपाय, जैविक विविधता संरक्षण, वातावरणीय अधिकार तथा दिगो विकाससँग सम्बन्धित प्रश्नहरू समावेश गरिएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा वातावरणीय विषयप्रति ज्ञान अभिवृद्धि गर्नुका साथै अनुसन्धान र सिकाइप्रति रुचि बढाउन सहयोग पुगेको सहभागीहरूको भनाइ थियो। उत्कृष्ट पाँच समूहलाई शैक्षिक सामग्री प्रदान गरी कार्यक्रम समापन गरिएको थियो।
आयोजक संस्थाका अनुसार विश्व वातावरण दिवस केवल औपचारिक रूपमा मनाउने दिन नभई वातावरण संरक्षणप्रति व्यक्तिगत, पारिवारिक तथा सामुदायिक स्तरमा व्यवहार परिवर्तनको सन्देश दिने अवसर हो। समुदाय, विद्यालय, स्थानीय सरकार तथा सरोकारवाला निकायहरूबीचको सहकार्यबाट मात्र जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न सकिने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक बनाइने जनाइएको छ।

“आज रोपिएको बिरुवा भोलिको जीवन हो” भन्ने सन्देशलाई आत्मसात् गर्दै आयोजित यी कार्यक्रमहरूले बर्दिबास क्षेत्रमा हरियाली विस्तार, वातावरणीय चेतना अभिवृद्धि तथा जलवायु अनुकूल विकासको आधार निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। स्थानीयवासीहरूले समेत वातावरण संरक्षणलाई दैनिक जीवनशैलीसँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। विश्व वातावरण दिवसका अवसरमा सम्पन्न यी गतिविधिहरूले बर्दिबासलाई थप हरित, स्वच्छ र दिगो नगर निर्माणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।



