गाैशाला, जेष्ठ २२ गते ।
महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरमा शुक्रबारको दिन सामान्य थिएन। गाउँका धेरै ज्येष्ठ नागरिकका लागि यो दिन वर्षौँदेखिको प्रतीक्षाको अन्त्य थियो। पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपुर्जा हातमा पर्दा धेरैको अनुहारमा खुसी झल्किएको थियो ।
रजखोरका ३४ परिवारले करिब ६ दशकपछि जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरे। लालपुर्जा वितरण कार्यक्रममा सहभागी स्थानीयवासीले यसलाई आफ्नो जीवनकै महत्वपूर्ण दिनका रूपमा सम्झिए। वर्षौँसम्म आफू बस्दै आएको जग्गा आफ्नै भए पनि कागजी रूपमा स्वामित्व प्रमाणित गर्न नसक्दा उनीहरू विभिन्न समस्या झेल्दै आएका थिए ।
स्थानीय बेचन साहीले लालपुर्जा हातमा लिएपछि भने, “हामीले बुबाबाजेको पालादेखि यहीँ बसोबास गर्दै आएका थियौँ, तर आफ्नो जग्गाको प्रमाण थिएन। आज त्यो चिन्ता हट्यो ।”
किशोरी दासको अनुभूति पनि उस्तै थियो । उनका अनुसार लालपुर्जा नहुँदा जग्गाको कानुनी हैसियतबारे सधैँ अन्योल रहन्थ्यो। अब भने आफ्नो सम्पत्तिमाथि कानुनी अधिकार स्थापित भएको महसुस भएको छ ।
रजखोर बस्ती लामो समयदेखि गाउँ ब्लक क्षेत्रअन्तर्गत परेका कारण यहाँका बासिन्दाले लालपुर्जा पाउन सकेका थिएनन्। नापी कार्यालयले नापजाँच, दाबी–विरोधको सुनुवाइ र अन्य आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र लालपुर्जा वितरणको बाटो खुलेको हो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले स्थानीयवासीको दशकौँ पुरानो चाहना पूरा भएको बताए। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गरेको उल्लेख गरे ।
स्थानीयका अनुसार लालपुर्जा केवल एउटा कागज होइन, पुस्तौँदेखिको प्रतीक्षा, संघर्ष र आशाको प्रतिफल हो। त्यसैले शुक्रबार रजखोरमा वितरण गरिएका ३४ वटा लालपुर्जा केवल सरकारी दस्तावेज नभएर ३४ परिवारको जीवनमा नयाँ भरोसाको अध्याय बने ।

