मकवानपुर, जेष्ठ २३ गते ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित धारा ढोला (खोल्सा) क्षेत्रमा शुक्रबार दिउँसो सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको BAA 9768 नम्बरको बोलेरो एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो ।
दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ। प्रारम्भिक जानकारीअनुसार १० जनाको अवस्था मध्यम रहेको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
घटनालगत्तै प्रहरीले सुमो चालक काठमाडौं महानगरपालिका–१४ का करिब ४५ वर्षीय मनोज श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
दुर्घटनाका कारण केही समय उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको थियो। घाइतेहरूको विस्तृत परिचय तथा स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

